एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैनः प्राधिकरण

एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैनः प्राधिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको बताएको छ । प्राधिकरणले सार्वजनिक लेखा समितिलाई पत्रमार्फत एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको जानकारी गराएको हो ।

कानुनको परिपालना नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने स्पष्ट पारेको छ ।

मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मंसिरमा पत्र लेखिएको छ । त्यसको आधिकारिक कागजात प्राप्त नभएको समेत प्राधिकरणले जनाएको छ ।

यसअघि आजियाटाले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिई एनसेलको सेयर किनबेच गरेको भन्दै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेखेको थियो । जसमा सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको समेत जानकारी गराइएको थियो । जवाफमा एनसेल आजियाटाले सेयर खरिद बिक्रीमा नेपालको कानुन पूर्ण रुपमा पालना गर्ने बताएका थियो ।