काठमाण्डु – भक्तपुरको गोठाटार बस्ने अपहरणमा परेकी २ वर्षीया बालिका ३६ घण्टामा अपहरणमुक्त भएकी छन् ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उनलाई अपहरणमुक्त गरेर आरोपीलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक घर भई भक्तपुरको गोठाटार बस्ने बालिका अपहरणमा परेकी थिइन् ।
काठमाण्डु जिल्लाको गौशालाबाट बालिकाको अपहरण भएको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा बालिकालाई अपहरण भएको ३६ घण्टाभित्र भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीटंकीबाट अपहरणमुक्त गरिएको छ ।
अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला प्रहरी परिसर टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा बालिकाको सकुशल उद्धार गरी पीडितलाई जिम्मा लगाएको र अपहरणमा संलग्न रामेछाप घर भई हाल भक्तपुरको सुर्यविनायक–३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाललाई पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया