काठमाण्डु – करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले उच्च अदालत पाटनबाट भएको आदेशलाई दुष्प्रचार गरिएको गुनासो गरेको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले आदेशको गलत व्याख्या गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यस कम्पनीको उत्पादनको विक्री वितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको कुरामा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कम्पनीले चाउचाउलाई निरन्तर उपभोग र बिक्रीवितरण गर्न अनुरोध गरेको छ । ‘उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वन नगर्न अर्थात् विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश गरेको विषयलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग, व्यापारी वर्ग तथा डिलरहरूसमक्ष भ्रामक समाचारको पछि नलागी निरन्तर उपभोग तथा बिक्रीवितरण गरिरहन हुन समेत अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
सीजी फुड्स नेपाल प्रालिले कम्पनीको उत्पादनविरुद्ध मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । अगाडि भनिएको छ, ‘सीजी फुड्स (नेपाल) प्रालिले यस कम्पनीले उत्पादन तथा बिक्रीवितरण गर्दै आएको तपसिलको लेबलेको करेन्ट चाउचाउ अन्तर्गतको उत्पादनको बिक्रीवितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको उजुरीको दावी नपुग्ने र यस कम्पनीले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी उद्योग विभागबाट २०८०/०२/२९ मा फैसला भएको थियो । उद्योग विभागको निर्णयउपर सीजी फुड्स (नेपाल) प्रालिले सम्मानित उच्च अदालत पाटनमा पुनः करेन्ट चाउचाउको उत्पादन बिक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा सम्मानित उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाइ गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुंगो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२/२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिने’ आदेश भएको ।’
कम्पनीले भनेको छ, ‘यशोदा फुड्स प्रालि नेपालमा करेन्ट ट्रेडमार्क अन्तर्गत विभिन्न स्वादका चाउचाउ, चिजबल्स तथा स्न्याक्स उत्पादन गर्ने नेपालकै प्रतिष्ठित कम्पनी हो । कम्पनीका उत्पादनहरू नेपालमा मात्र नभई भारत, अमेरिका, जापान, कोरिया, युरोपेली मुलुकहरू, अफ्रिकी मुलुकहरू लगायत विश्वभरका थुप्रै मुलुकमा उल्लेख्य मात्रामा बिक्री वितरण भइरहेका छन् । कम्पनीले उद्योग विभागबाट विभिन्न मितिमा दर्ता नं. ०५६९३९, ०५६९४१, ०६०९२४, ०६०९२५, ०६०९२८ लगायतबाट ट्रेडमार्क करेन्टको दर्ता प्राप्त समेत गरिसकेको छ । कम्पनीले लामो समयको अनुसन्धान तथा विकासमा ठूलो धनराशी लगानी गरेर उच्च गुणस्तरीय उत्पादन बजारमा पठाउन सफल भएको छ । नेपालमा मात्र नभई विश्वका थुप्रै मुलुकका उपभोक्ताले समेत करेन्ट ट्रेडमार्क अन्तर्गतका उत्पादनहरुलाई यसको गुणस्तर र स्वादका कारण अत्यधिक रुचाइएको छ ।’




प्रतिक्रिया