काठमाण्डु- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएपछि तनाव उत्पन्न भएको छ।
विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता मेयर साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेपछि धरान उपमहानगरपालिका परिसरमा तनाव बढेको हो ।
यही पुस १२ गते मेयर साम्पाङले संघीय सरकारले असहयोग गरेको भन्दै दुवैजनाको तस्बिर हटाइदिएका थिए। त्यसको विरोध जनाउँदै धरानका पाँच दलले पाँच दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न मेयरलाई अल्टिमेटम दिएका थिए।
तर, उनले अटेरी गरेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका छन्।
परिस्थिति असामान्य हुनसक्ने भन्दै त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले प्रहरीले हर्क साम्पाङसहित समर्थक र तस्बिर लिएर गएका कार्यकर्ताका प्रतिनिधिलाई सँगै राखेर छलफल गराइरहेको छ ।




प्रतिक्रिया