बाबुराम भट्टराईको आरोप : ओली नेतृत्वको सरकार असफलजस्तै भइसक्यो

बाबुराम भट्टराईको आरोप : ओली नेतृत्वको सरकार असफलजस्तै भइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयता कार्यान्वयन, जनताको शान्ति सुरक्षाका विषयमा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलजस्तै भएको आरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले सोमबार आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले भने ‘सरकारले शिक्षा, स्वास्थ्यका क्षेत्र आसेपासेलाई कमाउने क्षेत्रका रुपमा भनेर दिएको छ ।’

उनले कमिसनको खेलमा लागेर कालोसूचिमा परेको चाइना गेजुवा कम्पनीलाई बूढीगण्डकी निर्माण गर्न दिएको भन्दै सरकारको विरोध गरे । उनले भने, ‘बूढीगण्डकी आयोजना भकुण्डोजस्तो बनाइयो। एउटा सरकारले निजीलाई दिन्छ अर्कोले खोस्छ।’ नेपालीहरूकै लगानीमा मात्रै बूढीगण्डकी निर्माण सम्भव रहेको उनको भनाइ छ।

उनले सरकार आफ्नै भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको भनेर व्यग्ङ्य गर्दै यही बाटोमा हिड्ने हो भने यो सरकारको भविश्य राम्रो छैन भने ।
सरकारले विकास र समृद्घिको न्यूनतम कुराहरु पनि गर्न नसकेको उनले बताए । ‘महिलाहरुमा असुरक्षा बढेको छ, सरकार यस्ता घटनाका दोषी उपर केही गर्न सक्दैन हामी चिन्तित छौँ,’उनले भने ।

विकास निर्माणमा दलीय घेरामा बाँढिन नहुने उनले बताए । व्यक्ति वा निजी क्षेत्रले गर्ने काम राज्यले गर्ने अनि राज्यले गर्ने काम निजी क्षेत्रले गर्न खोज्ने प्रवृत्ति रहेको भन्दै राज्य र निजी क्षेत्रको भूमिका छुट्टायाउनुपर्ने भट्टराईले बताए ।