नेपाली सेनाले गोरखादेखि काठमाण्डुसम्म पदयात्रा गर्ने

नेपाली सेनाले गोरखादेखि काठमाण्डुसम्म पदयात्रा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाली सेनाले गोरखादेखि काठमाण्डुसम्म पदयात्रा गर्ने भएको छ ।

पुस २१ गतेदेखि रिपुमर्दन गणले गोरखा–काठमाण्डु पदयात्रा गर्न लागेको छ ।

नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाण्डुसम्मको बाटोमा यात्रा गर्न लागिएको निमित्त गणपति भुवनबहादुर थापा मगरले बताए ।

उनका अनुसार अधिकृतको कमान्डमा ३० जनाको टोली पदयात्रामा सहभागी हुनेछ । पुस २७ गते ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पदयात्रा गर्न लागिएको छ ।

यात्रामा टर्च र नेपाली सेनाको पहिलो ५ कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर गण र सबुज गणको झण्डा लिएर सेनाको फौज सहभागी हुनेछ ।

गोरखा दरबारबाट सुरु हुने यात्रा ताप्ले, अश्राङ, बोर्लाङ, घाटवेशी पुग्ने सेनाले जनाएको छ ।

टोलीले टर्च र झन्डा धादिङलाई हस्तान्तरण गर्नेछ भने त्यसपछि धादिङले नुवाकोट र नुवाकोटले २६ गते साँझ काठमाण्डुको टोलीलाई बुझाउनेछ ।

टोली पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा हुने कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । एकीकरण मार्गको संरक्षण र प्रबर्द्धनका लागि २०७६ सालदेखि नेपाली सेनाले पदयात्रा गर्न थालेको छ ।