कर्णालीमा विकासका एजेण्डालाई एकताका साथ अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री खड्का

कर्णालीमा विकासका एजेण्डालाई एकताका साथ अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेण्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भई विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

नेतृत्व लिने कुरा महत्त्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ संकल्प र विश्वासका साथ विकासका लागि एकजुट हुन आग्रह गरे । राजनीतिक आस्था फरक–फरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने उनले बताए ।

प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उनले बताए । उनले जलस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेको समेत जानकारी दिए ।

‘जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्,’ उनले भने, ‘यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ ।’

दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उनले सुझाव दिए । उनले रंगशाला निर्माणका लागि धन्यवाद दिँदै खेलकुद सम्बन्धी संरचना निर्माणका लागि संघीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।