अहिलेको सरकार, कांग्रेस वा अरु पार्टीहरूले राम्रो गरेनन् : प्रथम राष्ट्रपति यादव

अहिलेको सरकार, कांग्रेस वा अरु पार्टीहरूले राम्रो गरेनन् : प्रथम राष्ट्रपति यादव


काठमाण्डु – नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले अहिलेको सरकार, नेपाली कांग्रेस र प्रमुख पार्टीहरूले राम्रो काम नगरेको बताएका छन् ।

आज शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने बताए ।

उनले भने, ‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरु पार्टीहरूले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो, गर्न सकिरहेका छैनन् तर हामी एउटा बाटोमा छौं । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ ।’

देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेश गइरहेको बताउँदै यादवले ‘कोर्स करेक्सन’ हुने आशा गरे । ‘हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौं,’ उनले भने ।