काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले खरिद ऐनलाई सरकारले छिट्टै समयानुकूल हुने गरी परिमार्जन गर्न मन्त्रिपरिषद्मा पेश गरिसकेको बताए ।
आगामी संसद् अधिवेशनमा संशोधन विधेयकका रूपमा सरकारले पेश गर्ने उनले बताए । ‘विकास–निर्माणको सवालमा सबैभन्दा मुख्य रूपमा सार्वजनिक खरिद ऐन जो धेरै वर्ष अगाडि बन्यो, समय धेरै परिवर्तन भयो । परिस्थिति परिवर्तन भयो । अहिले विज्ञान, प्रविधिको युगमा हामी छौं तर पुरानै अवस्थाको चाहिँ खरिद ऐन हामीले बोक्नुपरिरहेको छ । त्यसैबाट हामी चल्नुपरेको छ । गाइडिङ हुनुपरेको छ । त्यसले पनि समस्या उत्पन्न गरेको छ । अब हामीले छिटो गरौं भनेर अब त्यो मन्त्रिपरिषद्सम्म पुगेको छ,’ उनले भने, ‘नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरूलाई सम्बोधन गर्ने गरी विकासमैत्री ऐनको रूपमा हामीले ल्याउँदैछौं । केही समयपछि हामी त्यो संसदमा पेश गर्छाैं । कतिपय पुराना नीतिहरूलाई पनि हामीले संशोधन गरिरहेका छौं ।’
विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले ऐन बनाउने काममा ढिलाइ नगर्ने मन्त्री ज्वालाले बताए । मन्त्री ज्वालाले यातायात व्यवसायीको माग सम्बोधन हुने गरी सार्वजनिक सडक सम्बन्धी कानून र सवारी तथा यातायात सम्बन्धी कानूनलाई नयाँ रूपमा अगाडि बढाउनुपर्छ भनेर आफू प्रयासरत रहेको बताए ।
‘सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐनको कुरा । अहिले हामी त्यो संशोधनको प्रक्रियामा छौं । आउने बित्तिकै मैले २ वटा कानून कमसेकम तुरुन्तै बनाउनुपर्छ भनेर एउटा सार्वजनिक सडक सम्बन्धी कानून र अर्को चाहिँ सवारी तथा यातायात सम्बन्धी कानूनलाई चाहिँ नयाँ रूपमा अगाडि बढाउनुपर्छ भनेर प्रयत्न गरेका छौं । त्यसमा धेरै कुराहरूको सम्बोधन हुन्छ । त्यहाँ यातायात व्यवसायीका सवाल, लाइसेन्सका विषयहरू, मजदुरको विषयहरू,’ उनले भने, ‘यी तमाम विषयहरू यसमा समावेश गर्ने गरी त्यो ऐनलाई हामी छिटोभन्दा छिटो अगाडि बढाउने गरी प्रयास गरिरहेका छौं र त्यस सम्बन्धमा हामी फाइनल गर्नुभन्दा पहिले हामी व्यवसायीसँग पनि छलफल गर्छाैं, हामी मजदुरसँग सम्बन्धित संगठनहरूसँग पनि छलफल गर्छाैं । विज्ञहरूसँग छलफल गर्छाैं । त्यो माननीयजीहरूसँग छलफल गर्छौं ।’




प्रतिक्रिया