असई थमन विक हत्या आरोपमा फरार एकजना पक्राउ

असई थमन विक हत्या आरोपमा फरार एकजना पक्राउ

File Photo

जनकपुरधाम – सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जन्मकैदको सजाय पाएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका –९ परिकौलीका मोहन ठाकुर रहेको महोत्तरी प्रहरीले जनाएको छ।

जिल्ला अदालत महोत्तरीले मङ्सिर २८ गते मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको घटनाको फैसला सुनाउँदै सो घटनामा संलग्न रहेका सात जनालाई जन्मकैदको सजाय तथा दुई जनालाई सफाइ दिएको थियो।

जिल्ला अदालतले विकको हत्यामा संलग्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख रामशंकर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला गरेको थियो।​

त्यसैगरी हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जय कुमार साहलाई समेत जन्म कैदको फैसला भएको हो।