काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारत भ्रमणमा जाँदा भएका सम्झौता र भारतीय विदेशमन्त्री एस जयशंकर भ्रमणका क्रममा भएको सम्झौता सार्वजनिक नगरिए भन्दै आपत्ति जनाएको छ।
एमाले संसदीय दलका सचेतक एवम् कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सरकारले गरेका सम्झौता तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
‘भारतसँग भएका सम्झौताको प्रतिसहित तत्काल उपलब्ध गराउनुपर्छ । यसमार्फत सिंगो जनतालाई जानकारी गराउनुपर्छ। प्रधानमन्त्री ज्यूले त्योउपलब्ध गराउनुहुन्छ भन्ने विश्वास छ।’, उनले भने ।
त्यस्तै उनले भारतीय दूतावासलाई नेपालमा २० करोड रूपैयाँसम्मका आयोजनामा सीधै खर्च गर्न दिने गरी भएको सम्झौतालाई राष्ट्रघात गरेको आरोप लगाएको छ ।
‘नेपालको संविधानको धारा ५ बमोजिम अहिलेको सम्झौता हो ? नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रतालाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा तपाईं भन्न सक्नुहुन्छ ? तपाईं यो सम्झौताप्रति गर्व गर्दै हुनुहुन्छ । तर, यो सम्झौताले देशको राष्ट्रघातको जरा काट्ने काम भएको छ ।’, उनले भने ।
यता प्रधानमन्त्री प्रचण्डले उक्त सम्झौताको बचाउ गरेका छन् । उनले यसअघिका सबै सरकार यो सम्झौतामा संलग्न रहेको बताए । ‘माननीय सदस्यहरूलाई हेक्का रहोस्, यो अहिले आएर भएको सम्झौता होइन । २००३ देखिको निरन्तरता हो । अहिलेसम्मका सबै सरकार यसमा संलग्न छन् ।’, प्रधानमन्त्री प्रचण्डले भने ।




प्रतिक्रिया