क्रिकेटर सन्दीप जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने

क्रिकेटर सन्दीप जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने

File Photo

काठमाण्डु – बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने काठमाण्डु जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन् ।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले उच्च अदालत जाने तयारी भइरहेको जानकारी दिए ।

आज बुधबार काठमाण्डु जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले कुनै पनि आधार, कारण र प्रमाणहरूले सन्दीप दोषी नदेखिएकाले न्यायका लागि उच्च अदालत जान लागिएको बताए ।

लामिछाने आफैंले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार सुरक्षित रहेको उनले बताए ।

जिल्ला अदालतको फैसलालाई मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा भाग लिएको उनले बताए ।