सशस्त्र प्रहरीका श्रेणीविहीन पद पाँचौं स्तरसम्मको तलबमान र ग्रेड दर स्वीकृत

सशस्त्र प्रहरीका श्रेणीविहीन पद पाँचौं स्तरसम्मको तलबमान र ग्रेड दर स्वीकृत


काठमाण्डु – सरकारले सशस्त्र प्रहरी बल नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन पाँचौं स्तरसम्मको तलबमान र ग्रेड दर स्वीकृत गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रेणीविहीन प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौं स्तरको सुरु तलबमान ग्रेड संख्या, ग्रेड दर स्वीकृत गरिएको जानकारी दिइन् ।

भारतको गुजरातमा हुने दशौं भाइब्रेट गुजरात ग्लोबल समिट २०२४ मा भाग लिन पुस २४ देखि २७ गतेसम्म अर्थमन्त्रीलाई भाग लिन स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले भूकम्पबाट प्रभावित जिल्लाका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित १०० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता र कार्यक्रम सम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

२०८० पुस २७ र २८ मा काठमाण्डुमा हुने नेपाल—भारत वाणिज्य सहसचिव स्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८१ असार मसान्तसम्म थप गरिएको छ ।

बैठकले एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न नेपाल सरकार मन्त्रीपरिषद्को २०८०/८/२१ को निर्णयअनुसार गठित समितिको कार्यविधि माघ १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।