नेपाल-भारत सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ : परराष्ट्रमन्त्री साउद

नेपाल-भारत सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ : परराष्ट्रमन्त्री साउद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा – परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको जानकारी दिए।

“कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ, मन्त्री साउदले भने, यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको मन्त्री साउदले बताए। सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुङ्ग्याउने प्रयास भइरहेको उनको भनाइ थियो । मन्त्री साउदले भारतका विदेशमन्त्री डा एस जयशङ्करले हालै गर्नुभएको नेपाल भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे ।

“भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजना सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायत सम्झौता भएका छन्”, उनले भने, “दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सार्थक रह्यो ।”