भूकम्प पीडितको उद्धार र राहतमा सेनाले पुर्‍याएको योगदानको रक्षामन्त्रीले गरे प्रशंसा

भूकम्प पीडितको उद्धार र राहतमा सेनाले पुर्‍याएको योगदानको रक्षामन्त्रीले गरे प्रशंसा


काठमाण्डु – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।

उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले सेनाको योगदान र पेशागत दक्षताको उच्च प्रशंसा गर्दै सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिए ।

उनले भने, ‘सीमित स्रोत, साधन र सुविधाका बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आउनुभएको छ । आफ्नो कार्यसम्पादनका क्रममा नेपाली सेनाले भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसूस गरेको छ । ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन गर्दै जानेछ ।’

कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम ईलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उनले बताए । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा समेत संयुक्त राष्ट्रसंघको झण्डामुनि रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै उनले प्रशंसा गरेका छन् ।