काठमाण्डु – प्रहरी कर्मचारीका परिवारका ज्येष्ठ नागरिक (बुवा/आमा) लक्षित नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले शिविरमा सहभागी ज्येष्ठ नागरिकलाई सम्मान समेत गरे । सो अवसरमा उनले देश र नागरिकको सेवामा तल्लीन रहँदा कार्यव्यस्तताको कारण प्रहरी कर्मचारीहरूले आफ्ना बुवाआमाको हेरचाह तथा स्वास्थ्य उपचारमा उचित समय दिन नसक्दा स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइन् ।
स्वास्थ्य समस्याको पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी रोग निदानको लागि शिविरले टेवा पुर्याउने विश्वास उनले व्यक्त गरिन् ।
शिविरमा नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट प्रहरी कर्मचारीका परिवारका कूल २५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।




प्रतिक्रिया