पोखरा – गोर्खा सैनिकको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले ६ महिने ‘अल्टिमेटम’ दिएको छ ।
आज शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गेसोले ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ ।
गत बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गेसोका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका थिए । गेसोका सभापति कृष्णकुमार राईले वार्ताको नाममा वार्ता मात्रै भइरहेको भन्दै अब ठोस रूपमा वार्ता हुनुपर्ने माग गरे ।
‘अबको वार्ता हामी सबै गोर्खाको प्रतिनिधित्व गर्ने संस्था सहितको हुनुपर्छ । अब वार्ताको लागि वार्ता मात्रै होइन, वार कि पार गर्ने हिसाबले जानुपर्छ,’ उनले भने, ‘गत २५ गते हामीले प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र पनि बुझाएका छौं । उहाँ पनि सकारात्मक हुनुहुन्छ । यसपटक हामी अलि आशावादी छौं ।’
गेसोले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बेलायती सेनामा भर्ती हुने नेपाली नागरिकले त्यहीँका नागरिकले सरह सेवासुविधा पाउनुपर्ने, लडाइँमा मृत्यु हुनेको हकमा परिवारको सदस्यको लागि क्षतिपूर्ति र परिपूरणको व्यवस्था, समान पेन्सनका हकमा बेलायती उच्च अदालतले गरेको फैसला कार्यान्वयन माग गरेको छ ।
विभिन्न कारण अवकाश दिइएका सैनिकलाई एकमुष्ट पेन्सन, गोर्खा सैनिकका श्रीमतीलाई बेलायती सैनिकका श्रीमतीसरह पेन्सन, नेपालमा रहेका गोर्खा सैनिकलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अनुसारको स्वास्थ्य सेवा लगायतको माग गेसोले राखेको छ ।




प्रतिक्रिया