काठमाण्डु – हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ घर भई काठमाण्डुको कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवनको राप्ती नगरपालिका–४ घर भई काठमाण्डुको सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम छन् ।
काठमाण्डु महानगरपालिका–२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डीमार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दुवै जनालाई काठमाण्डुको महाबौद्धबाट पक्राउ गरेको छ ।
भिमसेनको साथबाट नगद ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ ।
आरोपीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया