काठमाण्डुमा नक्कली मदिराको कारोबार, यसरी भयो खुलासा

काठमाण्डुमा नक्कली मदिराको कारोबार, यसरी भयो खुलासा


काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालोबजारी हुने गरेको पाइएको छ ।

प्रहरीले नक्कली मदिरा बेचेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डुको कोटेश्वर बस्ने रामेछापको खाँडादेबी गाउँपालिका–२ घर भएका ३६ वर्षीय विनोदकुमार कार्की र सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ४० वर्षीय लेखविक्रम थापा तथा काठमाण्डुको मूलपानी बस्नेहरू रामेछापको खाँडादेबी गाउँपालिका–२ घर भएका २८ वर्षीय मनोज खत्री, रामेछापको मजुवा गाउँपालिका–३ घर भएका २३ वर्षीय महेश खत्री, रामेछापको खाँडादेबी गाउँपालिका–२ घर भएका २० वर्षीय मनिस खत्री, सिन्धुलीको कमलामाई नगरपालिका–९ घर भएका २८ वर्षीय गौरव तामाङ, सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ घर भएका २७ वर्षीय मोहन खड्का, सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१ घर भएका १८ वर्षीय किशोर र काठमाण्डुको कागेश्वरी मनोहरा–६ घर भएका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–५ थलिस्थित विनोदकुमार कार्कीले भाडामा लिई बसेको कोठामा तलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन गोल्ड मदिरा, मदिरा बनाउन प्रयोग गर्ने सामानहरू, चिनी–पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, राजस्व अन्त शुल्कको स्टिकरहरू, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामान लगायत अन्य विभिन्न सामग्रीहरू सहित फेला पारेर पक्राउ गरेको छ ।

स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू बनाई कालोबजारी गर्ने गरेको, आन्तरिक राजस्वको अन्तःशुल्कका नक्कली स्टिकरहरू प्रयोग गर्ने गरेको, नक्कली मदिरा सञ्चालकहरूले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू प्रचलित बजार दरभाउभन्दा कम मूल्यमा बेचबिखन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

आरोपीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको छ ।