फागुनमा हुने काठमाण्डु केन्द्रित आन्दोलनका लागि तयार रहन अध्यक्ष लिङ्देनको निर्देशन

फागुनमा हुने काठमाण्डु केन्द्रित आन्दोलनका लागि तयार रहन अध्यक्ष लिङ्देनको निर्देशन


झापा – आगामी फागुन महिनामा पार्टीले गर्ने काठमाण्डु केन्द्रित आन्दोलनका लागि तयारी अवस्थामा रहन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीद्वारा झापाको बिर्तामोडमा आज शनिबार आयोजित विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले फागुन महिनामा गरिने काठमाण्डु केन्द्रित आन्दोलनले अन्य दल तथा दलका नेतालाई घुँडा टेकाएरै छाड्ने बताए ।

आन्दोलनलाई निर्णयमा पुर्‍याएर मात्र टुंग्याउने उनले बताए । उनले भने, ‘देशका प्रत्येक नागरिकले खोजेको परिवर्तन हामीले उठाउनुपर्छ । हाम्रो आन्दोलनले नागरिकको आवाज बोक्छ । १०–२० हजार मान्छे मात्र भए भने हाम्रो पार्टीको प्रचार भो भनौंला तर लाखौं मान्छेले काठमाण्डु घेरे भने के सरकारले हामीलाई गोली हान्छ ?’

पार्टीभित्र पहिला नेतृत्वमा बसेर असफल भइसकेका व्यक्तिहरू समेत रहेकाले कहिलेकाहीँ वातावरण खल्बल्याउने प्रयास हुने गरेको उनले बताए ।