त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालयमा तोडफोड

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालयमा तोडफोड


काठमाण्डु – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालयमा तोडफोड गरिएको छ ।

आज शनिवार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट निर्वाचित स्ववियु सदस्यहरूले नै सभापति ओझाको कार्यालय तोडफोड गरेका छन् ।

कार्यालय तोडफोडपछि सदस्यहरूले सभापति ओझाको राजीनामा समेत मागेका छन् । सदस्यहरूले ओझामाथि सभापति निर्वाचित भएदेखि नै कर्मचारी, प्राध्यापकको सरुवा–बढुवामा पैसा खाएर भागबण्डा मागेको, विश्वविद्यालयभित्र हुने निर्माणका कामहरू रोकेर निर्माण व्यवसायीसँग पैसा उठाएको, स्ववियुले गरेको आन्दोलनलाई सीमित प्राध्यापक र कर्मचारीको प्रभावमा परेर समाप्त पारेको, प्रिन्सिपल र लेखासँगको मिलेमतोमा विश्वविद्यालय भित्रको माटो बेचेर खाएको आरोप लगाएका छन् ।

सभापति ओझाले कार्यालयका केही कुर्सीहरू ढालिए पनि तोडफोडै चाहिँ नभएको दाबी गरे । उनले आफूमाथि विभिन्न आरोप लगाए पनि कुनै पनि समूहले आफूसँग छलफल नगरेको स्पष्ट पारेका छन् ।