काठमाण्डु- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको बताएका छन्।
प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले रकार देशको लागि बोझ भइसकेको बताएका हुन। तर, पनि तत्कालै सरकार ढाल्नसक्ने अवस्था भने नभएको उनको भनाइ छ ।
‘सरकारका बस्ने केही सीमित व्यक्ति बाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन। सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्। कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन्, यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसदभित्रको संरचना हो। कांग्रेसले माओवादी नेतृत्वमा भइरहेका सारा कृयाकलापमा आँखा चिम्लिने, माओवादी आफ्ना सबै सिद्धान्तलाई कांग्रेसको सत्ता स्वार्थसँग लगेर तिलाञ्जली दिने गरेको हुनाले संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवतएन भइहाल्ने त्यस्तो संभावना म देख्दिनँ।’, उनले भने ।
त्यस्तै ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाएका छन् । विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको उनले दाबी गरे ।
‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’, उनले भने ।




प्रतिक्रिया