‘गाली गर्न कोही छुट्नुभएको भए गरिहालौँ, आज साँझ सबै स्पष्ट पार्ने छु’

‘गाली गर्न कोही छुट्नुभएको भए गरिहालौँ, आज साँझ सबै स्पष्ट पार्ने छु’


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले आफूसमेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति लामिछानेले आज साँझ पत्रकार सम्मेलन गर्ने बताएका हुन्। पत्रकार सम्मेलनबाट सबै कुरा स्पष्ट पार्ने लामिछानेको भनाइ छ।

‘गाली गर्न कोही छुट्नुभो कि? छुट्नुभएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’मा कोही ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नुहोला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’, लामिछानेले फेसबुकमा लेखेका छन् ।

लामिछाने राजनीतिमा आउनुपूर्व ‘ग्यालेक्सी फोरके’ नाम टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएको छ । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान गरिरहेको छ।