काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले २०८४ सम्म सरकारले गरेका गलत कामहरू हेरेर बस्न नसक्ने बताएका छन् ।
आज मंगलबार काठमाण्डुमा विभिन्न मिडियाका सम्पादकहरूसँग कुराकानी गर्दै पूर्व मन्त्री समेत रहेका लिङ्देनले आफ्नो दलले चुनाव कुर्न नसक्ने भन्दै फागुनबाट आन्दोलनमा जाने घोषणा गरे ।
‘हामी चुनाव कुर्न नसक्ने भयौं । देशको अवस्था झन् झन् बिग्रिँदै गइरहेको छ । नेतृत्वले सुध्रिन चाहेन,’ उनले भने, ‘देशको अवस्थामा कुनै सुधार भएन । अब हामी फागुनबाट आन्दोलनमा जान्छौं ।’
अध्यक्ष लिङ्देनले चुनाव कुर्न नसकेको प्रसङ्गलाई गलत भाष्यका रूपमा व्याख्या नगरिदिन पनि सम्पादकहरूलाई आग्रह गरे । उनले भने, ‘गलत नबुझिदिनुहोला तर हामी आन्दोलनमा जानैपर्ने भयो । गलत भाष्य नबनाइदिनुहोला । हामीले पुरानो व्यवस्थामा फर्किने भनेका छैनौं । पछाडि फर्किने कुरा छैन ।’
राप्रपाले हिन्दू राज्य पुनःस्थापना र राजसंस्थाको पुनर्बहालीका लागि फागुनबाट आन्दोलनमा जाने निर्णय गरेको छ ।




प्रतिक्रिया