काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको मतदान सकिएको छ ।
सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान भएको छ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।
मतदान सकिएको कोशीमा २ पालिका प्रमुखसहित ३ जना मतदानमा अनुपस्थित भएका छन् । मधेशमा १ सांसद मतदानमा सहभागी भएनन् । बागमतीमा काठमाण्डुका मेयर बालेन्द्र शाह र हाम्रो नेपाली पार्टीका २ सांसदले मतदान गरेनन् ।
गण्डकीमा सहकारी ठगीका आरोपित बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबैले मतदान गरेका छन् भने लुम्बिनीमा २ पालिका प्रमुखले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशमा शतप्रतिशत मतदान भएको छ ।
सुदूरपश्चिममा धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले राष्ट्रियसभा निर्वाचनमा मतदान गरेनन् । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।
मतदान सकिएसँगै सातै प्रदेशमा आज बिहीबारै मतगणना गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मतदान गरेका छन् ।




प्रतिक्रिया