सीआईबीले थुनेका अरुण चौधरी छुटाउन न्यायाधीशदेखि विदेशी दूतसम्म सक्रिय

सीआईबीले थुनेका अरुण चौधरी छुटाउन न्यायाधीशदेखि विदेशी दूतसम्म सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई छुटाउन सरकारका मन्त्रीदेखि न्यायाधीश र विदेशी दूतसम्म सक्रिय भएका छन् ।

चौधरी ग्रूपसँगको व्यक्तिगत सम्बन्धका आधारमा आरोपी चौधरीलाई छुटाउन सबैले भनसुन गरिरहेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरदेखि सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसम्मलाई दबाब आएको छ ।

स्रोतका अनुसार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, देउवापत्नी आरजु राणा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चौधरीलाई छाड्न प्रहरीलाई दबाब दिएका छन् । कांग्रेस संसदीय दलको बैठकमा आरोपी चौधरीका दाइ सांसद विनोद चौधरी लगायत सांसदहरूले सरकारको आलोचना गरेका थिए ।

सत्तारुढ दल कांग्रेसका नेताहरू मात्रै नभई अदालतका एक न्यायाधीशले एआईजी बज्राचार्यलाई फोन गरेर चौधरीलाई छाड्न दबाब दिएको स्रोतको दाबी छ । ‘न्यायाधीशले फोन गरेको कुरा पछि सम्माननीय प्रधानन्यायाधीशले थाहा पाउनु भएर ती न्यायाधीशलाई हप्काउनुभयो, न्यायालयले कानून अनुसारको छानबिन प्रक्रियामा कुनै दबाब दिँदैन भन्नुभयो,’ स्रोतले भन्यो ।

भारतीय गुप्तचर संस्था ‘रअ’का स्टेसन चिफ राघव भट्नाकरले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चौधरीलाई छाड्न दबाब दिएका स्रोतको दाबी छ । निजी क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले समेत चौधरीलाई पक्राउ गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आरोपी चौधरी स्वास्थ्यमा समस्या देखाउँदै अस्पतालमा बसेका छन् । सीआईबीले च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको बताएको छ । काठमाण्डुस्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा अरुण चौधरी लगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै सीआईबीले च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको छ ।

सीआईबीले फूटवेयरलाई जग्गाको हक हस्तान्तरण गर्ने बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरिसकेको छ ।

सीआईबीको प्रेस विज्ञप्तिमा मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७/०७/२० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम भएको काठमाण्डु जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–० जग्गा श्री ५ को सरकारको निर्णय विना सञ्चालक समितिलाई समेत कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानून विपरीत सञ्चालक समितिले आफूलाई फाइदा र श्री ५ सरकारलाई हानिनोक्सानी गर्ने उद्देश्यले काम गरेको उल्लेख छ ।

सीआईबीका प्रवक्ता नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई हानिनोक्सानी गर्ने उद्देश्यले मिति २०४३/०५/१० गते बाँसबारी छालाजुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापाले अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फूटवेयर लिमिटेड नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पुँजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरी क्यान्भास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाण्डु साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–० मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको च्याम्पियन फूटवेयर लि.को जारी पुँजी ५० लाख रहेकोमा सो पुँजीको २५ प्रतिशत शेयर लिने गरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको सम्झौताबमोजिम रु. १२ लाख ५० हजार लगानी गर्नुपर्नेमा रु. २६ लाख २७८।२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्‍याई आफूहरूले आर्थिक लाभ लिएको सम्बन्धमा साबिक मुलुकी ऐन, २०२० को कीर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसूर अनुसन्धानका लागि निम्न मानिसलाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान भइरहेको ।’