काठमाण्डु- सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ उठाउने रणनीति बनाएका छन् ।
सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा सरकार चुकेको आरोप लगाउँदै ती दलका नेताले राष्ट्रियता र स्वाधिनतासँग जोडिएका विषयवस्तुसमेत सदनमार्फत सिगो देशलाई ध्यानाकर्षण हुने गरी प्रखररुपमा उठाउने बताएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौलाले राष्ट्रियता, स्वाधिनता, संविधान कार्यान्वयन र जनसरोकारसँग जोडिएका विषयमा खबरदारीका साथ आवाज उठाउने बताए । उनले भने, “संसद्लाई प्रभावकारी बनाउन सरकारले बिजनेस दिनुपर्छ, अहिलेसम्म हेर्दा त्यो छाँटकाँट छैन । संविधान कार्यान्वयनका लागि ३९ भन्दा बढी कानून बनाउन पर्नेछ, सरकारको विजनेश दिने गति कम्जोर छ, त्यसप्रति अब हाम्रो कडा खबरदारी हुन्छ ।”
लोकतान्त्रिक अभ्यास भएका मुुलुकमा संसद्लाई प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलको सत्ताका रुपमा हेरिने गरिन्छ । संसद्ले यस पटक आफनो कामलाई प्रभावकारी तुल्याउन कार्यतालिका बनाएर काम गर्ने घोषणा गरिसकेको छ भने सरकारले पनि सांसदको माग बमोजिम प्री बजेट छलफल यसै अधिवेशनमा गर्ने तयारी गरेको छ । यी दुवै विषय सरकार र सदनका लागि यस पटक प्रवेश गर्दैछन् ।
राष्ट्रियसभाको शुक्रबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिसकेको छ । जसबाट संसद्को अधिवेशन प्रारम्भ र अन्त्य हुनेबारे सदनलाई पूर्वजानकारी भएपछि यस पटक कति र केकस्ता विधेयक ल्याइने भन्ने एकखाले ढुक्कको अवस्था रहने छ । विधेयक अधिवेशनका रुपमा रहने यस हिउँदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन् । अरु विधेयक पनि सदनमा दर्ता हुने क्रममा रहेको बताइएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार र महँगी बढेको, राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनता कमजोर भएको तथा राजनीतिलाई व्यवसायीक बनाइएकालगायत मुद्दालाई आगामी अधिवेशनमा प्रमुखताका साथ उठाइने प्रतिक्रिया दिए । उनले भने, “२०७९ सालमा निर्वाचित भएकाले देश र जनताको हितमा केही गरौँ भन्नुको साटो २०८४ सालको कुरा गरिरहेका छन्, जुन सुहाउँदो होइन, कतिपयलाई सत्तामा बाहिर रहनुपर्दाको छटपटी र सत्तामा नगई काम गर्न सकिन्न भन्ने चिन्ता देखिन्छ ।”
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली जनताको प्रमुख शत्रु भनेको भ्रष्टाचार भएकाले भ्रगटाचार, जनतन्त्र र जनजीवीका मुद्दालाई अधिवेशनमा प्रमुखताकासाथ उठाउने प्रतिक्रिया दिए । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले जिल्लाको गुठी र सुकुम्बासी तथा राष्ट्रियस्तरमा चीनसँगको बाँकी सीमानाका खुला गर्ने र भ्रष्टाचारसम्बन्धी मुद्दालाई प्रमुखताका साथ उठाउने सोच बनाएको प्रतिक्रिया दिए ।
उनले भने, “भ्रष्टाचारको अभियोगमा पक्राउ परेकालाई केही समयमै रिहाइ गर्ने प्रवृत्ति गलत छ । त्यो कार्य विरुद्धमा आवाज बुलन्द गर्ने पक्षमा छौँ । सविधान कार्यान्वयन र सङ्घीयतासँग जोडिएका थुप्रै निष्कर्षमा पु¥याउन बाँकी विधेयकलाई अघि बढाउन दलले दबाब दिने छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा जोडिएका बाँकी कानुन निर्माणलाई शीघ्रता प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिने बताए । उनले भने “कानुनलाई निष्कर्षमा पु¥याउने प्रमुख जिम्मेवारी सरकार र सत्ता गठबन्धनको हो । धेरैभन्दा धेरै विधेयकलाई पारित गर्नुपर्र्छ भन्नेमा हाम्रो जोड रहन्छ । यसबीचमा नागरिक अधिकार कुष्ठित, भ्रष्टाचार, महँगी, जनताले दैनिक झेल्नुपरेका अप्ठेरासम्बन्धी विषय पनि उठाउँछौँ ।”
दलहरुबीच सरकार गठनका लागि सहकार्य भएजस्तै जनताका माग र मुद्दामा पनि त्यो हुन आवश्यक रहेको उल्लेख गर्दै सांसद परियारले जनसरोकारका विषय स्थापित गर्ने ढङ्गबाट आवाज उठाउने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी अधिवेशनमा पनि मूलधारका राजनीतिक दलले कहिल्यै नउठाएका विषय उठाउँछौँ । नयाँ ऊर्जाहित युवाको आलोचनात्मक चेतनासहित उपस्थितिले रास्वपाले यस अधिवेशनमा विषयवस्तु घनिभूत ढङ्गबाट उठाउने र स्थापित गर्न हरसम्भव प्रयत्न हुनेछ ।” सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।



प्रतिक्रिया