‘एमालेले सरकार बदल्न छलफल गरिरहेको छ’

‘एमालेले सरकार बदल्न छलफल गरिरहेको छ’


काठमाण्डु- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तन लागि पार्टीभित्र छलफल भइरहेको बताएका छन् ।

शनिवार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकारले जनतामा निराशा मात्रै थपेकोले यो सरकारको विकल्प खोज्नुपर्ने समय आएको बताएका हुन् । सरकार बदल्नका लागि एमालेले विभिन्न दलहरूसँग छलफल गरिरहेको उनको भनाइ छ ।

‘अब सरकार बदल्नु अपरिहार्य छ । तर बदल्ने बाटो भनेको संसद् भित्रको अंकगणित नै हो । एमालेले चाहेर मात्रै सरकार बदलिने अवस्था छैन, हामी अंकगणितमा पछाडि छौँ । हाम्रो संसद्को अंकगणित परेसान गर्ने खालको छ । हामीले विभिन्न दलहरूलाई अपिल गरिरहेका छौँ । देशको यस्तो स्थितिमा पनि दुख्दैन भने लज्जास्पद भयो । अर्थतन्त्र बिग्रेको बनाउन सकिएला, तर देश बन्दैन भन्ने जुन भाष्य बनेको छ, देश छोड्ने अवस्था बनेको छ उनीहरूलाई फर्काउन गाह्रो पर्छ । यो अवस्थाप्रति जिम्मेवार बनौँ भनेर आग्रह गरेका छौँ ।’, उनले भने ।

एजेन्डा मिल्ने दलहरूसँग सहकार्य गरेर जाने उनले बताए । ‘देशको समस्याबारे जुन दल जिम्मेवार हुन्छ हामी एजेण्डाबेस सहकार्यको पक्षमा छौँ । यत्तिकै एकथान सरकार फेरेर नयाँ सरकार बनाउँदैमा कुनै अर्थ हुँदैन । मुलुकका समस्याको समाधान गर्ने विकल्प सहित लाग्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले एजेण्डाहरु पठाएका छौँ, एजेन्डा मागेका छौँ ।’