राष्ट्रपति पौडेललाई ओलीले भने- तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस्

राष्ट्रपति पौडेललाई ओलीले भने- तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस्


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।

शनिवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप पनि लगाएका हुन् । उनले संसद्का महासचिव नियुक्ति अड्काएको भन्दै राष्ट्रपति पौडेलप्रति आक्रोश पोखे ।

‘सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त रूपमा गर्नुभएको सिफारिसलाई किन रोकेको । ‘राष्ट्रपति कांग्रेस भइदिनुभएन, उहाँ कांग्रेस भइरहनुभएको छ, उहाँ कांग्रेसको भइसक्नुभयो। तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस्। आफूले पाएको अधिकार प्रयोग गर्नूस्, तपाईं गठबन्धनको प्रतिनिधि हैन।’, उनले भने ।

उनले संविधाननलाई सबैले मान्नुपर्ने बताएका छन् । ‘हामीले राजालाई त संवैधानिक अधिकारभन्दा माथि जान नपाउने बनाएका थियौँ। त्यो दायरा नाघ्न खोज्दा उहाँ त रहनुभएन। आज संविधाननलाई सबैले मान्नपर्छ। राष्ट्रपति डामेको साँढे हुन सक्दैन। बहुमतको दम्भ छ उहाँसँग। पदको गरिमाको सचेतता छैन।’, अध्यक्ष ओलीले भने ।