भागबन्डा र सत्ताका लागि माधव नेपाललाई पनि कुर्सीमा बसाउने ?

भागबन्डा र सत्ताका लागि माधव नेपाललाई पनि कुर्सीमा बसाउने ?


काठमाण्डु- नेपाली कांग्रेसका नेताहरूले अब प्रधानमन्त्री हुने पालो नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको हो भन्ने अभिव्यक्ति दिइरहेका छन् ।

‘समुदायमा कांग्रेस’ अभियानका क्रममा दाङ पुगेका बेला पूर्वउपसभापति विमलेन्द्र निधिले र नवलपुर पुगेका बेला पूर्वमहामन्त्री शशांक कोइरालाले सत्ता गठबन्धनभित्रको समझदारीअनुसार अब प्रधानमन्त्री हुने पालो माधवकुमार नेपालको हो भन्दै अभिव्यक्ति दिएका हुन् ।

‘प्रधानमन्त्री नै सरकारको कामबाट सन्तुष्ट हुनुभएको छैन । यस्तो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले कुनै ढिलो नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।’, नवलपुरबाट कोइरालाले भनेका थिए । यता माधव नेपालले पनि अब पूर्व सहमतिअनुसार आफू प्रधानमन्त्री हुने संकेत गरेका छन् । केही दिन अगाडी एक कार्यक्रममा उनले सरकार सत्ता गठबन्धनकै रहने तर, नेतृत्व भने अर्कोले गर्ने बताएका थिए ।

माधव नेपाल प्रधानमन्त्री बन्ने चर्चा चलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने व्यङ्ग्य गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शनिबार बसेको संसदीय दल बैठकमा अध्यक्ष ओलीले कांग्रेस नेताहरूप्रति लक्षित गर्दै माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेकोमा कटाक्ष गरेका हुन् ।

‘दलको होइन, स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर भनेका छन्,’ कांग्रेस नेता निधिप्रति लक्षित गर्दै ओलीले भने, ‘भनेपछि राजनीति कहाँ पुग्यो? भागबन्डा र सत्ताका लागि कसैलाई कुर्सीमा बसाउने? देश भड्खालामा गए जाओस्, उकालो लागोस् कि ओरालो लागोस् कसैलाई केही मतलब छैन। सत्ता, जहाँ पनि सत्ता।’ अध्यक्ष ओलीले माधवकुमार नेपालको नाम नलिई स्वतन्त्र हैसियत भएका सांसद भनेका थिए।