प्रचण्ड सरकार ढाल्न नयाँ गठबन्धन बनाउदैँ एमाले !

प्रचण्ड सरकार ढाल्न नयाँ गठबन्धन बनाउदैँ एमाले !


काठमाण्डु- नेकपा एमालेले वर्तमान सरकार ढाल्न विभिन्न दलहरुसँग छलफल गरिरहेको छ । वर्तमान सरकारसँग सत्तारुढ गठबन्धनमा रहेका दलहरु नै असन्तुष्ट भएको चर्चा चलिरहेका बेला नेकपा एमालेले नयाँ गठबन्धन बनाउने कसरत गरेको हो ।

नेकपा एमालेका शीर्ष नेताहरुले एमालेले बनाउने नयाँ गठबन्धनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु आउने दाबी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मात्रै अर्को सरकार गठन नहुने भएकाले आफूहरुले खुल्ला बहस सुरु गरेको एमाले नेताहरूको भनाइ छ ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार जबरजस्ती जोरजाम गरेर बनाइएको बताए । ‘हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ भने यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन ।’, नेकपा (एमाले) काठमाण्डु जिल्ला कमिटीले शनिवार टुँडिखेलमा आयोजना गरेको युवा महोत्सव-२०८० को उद्घाटन गर्दै भनेका थिए ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तन लागि पार्टीभित्र छलफल भइरहेको बताएका छन् । शनिवार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अब सरकार बदल्नु अपरिहार्य छ । तर बदल्ने बाटो भनेको संसद् भित्रको अंकगणित नै हो । एमालेले चाहेर मात्रै सरकार बदलिने अवस्था छैन, हामी अंकगणितमा पछाडि छौँ । हाम्रो संसद्को अंकगणित परेसान गर्ने खालको छ । हामीले विभिन्न दलहरूलाई अपिल गरिरहेका छौँ । ‘देशको समस्याबारे जुन दल जिम्मेवार हुन्छ हामी एजेण्डाबेस सहकार्यको पक्षमा छौँ । यत्तिकै एकथान सरकार फेरेर नयाँ सरकार बनाउँदैमा कुनै अर्थ हुँदैन । मुलुकका समस्याको समाधान गर्ने विकल्प सहित लाग्नुपर्छ। हामीले एजेण्डाहरु पठाएका छौँ, एजेन्डा मागेका छौँ ।’

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता गठबन्धनमा आवद्ध दलमध्ये सबै भन्दा ठुलो दल नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्ड असफल भइसकेको समेत खुलेआम टिप्पणी गर्न थालेका छन् । गत बिहीवार नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री प्रचण्ड असफल भइसकेको बताएका थिए ।

कोइरालाले सरकारको काम गराइबाट कोही पनि सन्तुष्ट नरहेको बताउँदै अब कुनै ढिलो नगरी सरकारको नेतृत्व फेर्नुपर्ने अवस्था आएको दबी गरे । ‘प्रधानमन्त्री नै सरकारको कामबाट सन्तुष्ट हुनुभएको छैन । यस्तो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो ।’, उनले भनेका थिए ।