हिंसा नदोहोरिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ: अध्यक्ष ओली

हिंसा नदोहोरिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ: अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन्।

सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताएका हुन्।

पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

उनले मानवता विरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी र दण्डहीनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताए।

‘टिआरसी पास गर्नुपर्छ। यसमा मस्यौदामा केही नमिलेका कुराहरु छन्। त्यसलाई मिलाएर पास गर्नुपर्छ। नमिल्नुपर्ने कारण नै छैन। पीडितहरुले न्याय पाउनुपर्छ। पीडित केन्द्रित हुनुपर्छ। अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनेगरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ। मानवता बिरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी, दण्डहिनता नहुनेगरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ।’, उनले भने ।

टीआरसी विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलमा छ । ५ जेठ २०८० मा कानुन न्याय तथा मानवअधिकार समितिले यो विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको थियो । उक्त संसदीय उपसमितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाएर प्रतिवेदन बुझाइसकेको छ ।