उपचुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान

उपचुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान


काठमाण्डु – निर्वाचन आयोगले उपचुनाव गर्नुपर्ने क्षेत्रमा मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज सोमबार विज्ञप्ति निकालेर उपचुनावको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको छ ।

२०७९ सालको वैशाख १० गते पालिका चुनाव र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव भएपछि रिक्त पदहरूमा उपचुनाव गर्ने तयारी आयोगको छ ।

पालिका, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका २३ वटा पद रिक्त रहेकाले उपचुनाव गर्नुपर्ने आयोगले जनाएको छ । पद रिक्त रहेका क्षेत्रहरूको विवरणसहित आयोगले मतदाता नामावली दर्ता गर्न अनुरोध गरेको छ ।

उपचुनावको मिति तोक्ने गरी आन्तरिक तयारी सुरु गरेको आयोगले जनाएको छ । मतदाता नामावली ऐन २०७३ मा चुनावको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।