सीआईबीको अनुसन्धान छल्न विनोद चौधरी भारततिर, बागेश्वरधाम बाबाको शरण पर्ने

सीआईबीको अनुसन्धान छल्न विनोद चौधरी भारततिर, बागेश्वरधाम बाबाको शरण पर्ने


काठमाण्डु – बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि सांसद विनोद चौधरीलाई बोलाउने तयारी गरिरहेका बेला उनी भारत गएका छन् ।

जग्गा घोटाला प्रकरणमा पक्राउ परेका भाइ अरुण चौधरीलाई रिहा गराएकै दिन दाइ विनोद भारततिर लागेका छन् ।

उनी बुधबार अपराह्न ४ः४५ बजे इन्डिगो एयरबाट भारत प्रस्थान गरेका स्रोतले जनाएको छ । उनीसँगै पत्नी सारिका चौधरी पनि दिल्ली गएकी छन् । भारतमा उनी बागेश्वरधाम बाबाको शरणमा जाने बताइएको छ ।

काठमाण्डु जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित ३ जनालाई सीआईबीले आज छाडेको छ । तर प्रहरीले कीर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै राख्नेछ ।

सीआईबीका एसएसपी दिनेश आर्चायले अदालतको आदेशबमोजिम तीनै जना हाजिरी जमानामा रिहा भए पनि कीर्ते र ठगी मुद्दामा अनुसन्धान जारी रहने बताए ।

अनुसन्धानका क्रममा बाँसबारीको छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेको च्याम्पियन फूटवेयर कम्पनीमा त्यो बेला कांग्रेसका सांसद समेत रहेका अर्बपति विनोद चौधरीको समेत अरुणसरह नै शेयर हिस्सा रहेकाले उनलाई पनि बयानमा बोलाउने सीआईबीको तयारी थियो । बयानका लागि सीआईबीले बोलाउने तयारी गरिरहेका बेला उनी दिल्लीतिर लागेका छन् । आफूमाथिको अनुसन्धान रोक्न उनले विभिन्न शक्तिकेन्द्रबाट दबाब दिइरहेको सीआईबी स्रोतले बताएको थियो ।

चौधरीको नाममा २०० कित्ता शेयर देखिएपछि सीआईबीले उनीसँग बयान लिने तयारी थालेको थियो । ‘जग्गा हत्याउने मुख्य योजनाकार नै विनोद भएको अनुसन्धानबाट देखिन्छ । हामीले हिजोका दिनमा मन्त्री र पूर्व प्रधानमन्त्रीको समेत बयान लिएका छौं । जतिसुकै दबाब आए पनि हामी उहाँको बयान लिएर छाड्छौं,’ सीआईबीको उच्च स्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

ठगी र किर्ते मुद्दामा सांसद विनोद चौधरीलाई वयानमा वोलाउने सीआईबीको तयारी