काठमाण्डु – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने निर्णय गरेको छ ।
आज शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले आईतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा अभियानबारे विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिको पहिलो दिन अभियानको समीक्षा र दोस्रो दिन विधानबारे छलफल गरिने माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा नेतृत्व चयनको प्रक्रिया र पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्नेबारे छलफल गरिएको उनले बताए । बैठकमा जनवादको उत्तम अभ्यास भएको र सबै विषयमा स्थायी समिति सदस्यले खुलेर कुरा राखेको उनले बताए ।
विधान सम्मेलनमा १ हजार ३०० प्रतिनिधिको कुरा सुनेर विधानलाई अन्तिम रूप दिइने उनले बताए ।
बैठकमा संविधान अनुसार पार्टीको विधि र संरचनालाई अघि बढाउनुपर्नेमा नेताहरूले जोड दिएका बताइएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक माघ २८ र २९ र फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको छ ।




प्रतिक्रिया