काठमाण्डु – राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने सबै कानून आगामी असोज ३ गतेभित्र बनाइसक्नुपर्ने भनी संकल्प प्रस्ताव दर्ता भएको हो । असोज ३ गते संविधान दिवस मनाइन्छ ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ प्रस्तावक र ८ सांसद समर्थक रहेर संकल्प प्रस्ताव राष्ट्रियसभा सचिवसमक्ष पेश गरिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानून बनाई नागरिकको मौलिक हक उपभोगको सुनिश्चितता प्रदान गर्नु राज्यको दायित्व हो र उपभोग गर्न पाउनु नागरिकको अधिकार हो । तसर्थ संविधान जारी भएको नवौं वर्षगाँठ २०८१ असोज ३ गतेसम्म अर्थात् संघीय संसद्को चालू पन्ध्रौं अधिवेशनभित्र संविधानअनुसार बन्न बाँकी कानूनहरू बनाइसक्न यो संकल्प प्रस्ताव पेश गरेका छौं ।’
प्रस्तावको समर्थनमा नेकपा एमालेका देवेन्द्र दाहाल, कांग्रेसकी अनिता देवकोटा, माओवादीका गोपी अछामी, नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवी राई, जसपाका मोहम्मद खालिद, लोसपाका शेखरकुमार सिंह, राजमोका तुलप्रसाद विश्वकर्मा र मनोनित विमला राई पौड्याल रहेका छन् ।




प्रतिक्रिया