काठमाण्डु – जापान पठाइदिन्छु भनेर ३५ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मकवानपुरको निबुवाटार गाउँपालिका–४ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३७ वर्षीय पुरुषोत्तम अधिकारीलाई पक्राउ गरेको हो ।
उनले रिता मल्ल समेत ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।
जापान पठाउन प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र जापान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम गरेर मासिक २ लाख ५० हजार रुपैयाँ तलब हुने भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी ३५ लाख ५० हजार रुपैयाँ रकम लिएर उनी सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा काठमाण्डु महानगरपालिका–३१ बिजुली बजारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया