माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि सुरु हुँदैछ ।

आजबाट सुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलन बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु हुनेछ ।

पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले पुस २७ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।

सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी हुनेछन् ।

प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो ।