काठमाण्डु – नेकपा माओवादी केन्द्रको विधान अधिवेशनका क्रममा सुझाव संकलन गर्ने क्रम बुधबारका लागि सकिएको छ ।
विभिन्न २० समूहमध्ये आज बुधबार १३ समूहबाट सुझाव प्रस्तुत भएको छ ।
सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रूपमा राख्नुपर्ने सुझाव दिए ।
उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने बताए ।
सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै संगठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्ट रूपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे ।
युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए । उनले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेश गरे ।
मंगलबारदेखि काठमाण्डुको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बिहीबार ७ समूहले सुझाव पेश गर्ने कार्यक्रम रहेको छ । बैठक भोलि बिहीबार बिहान ११ बजे पुनः बस्नेछ ।




प्रतिक्रिया