काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले सबै दल एकै हुन्, सबै नेता उस्तै हुन् भन्ने भाष्य खडा गरिएको बताएका छन् ।
मानव अधिकार एलाइन्सको दशौं राष्ट्रिय परिषद् बैठकलाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै उनले नेपाली समाजमा अहिले निराशाको खेती भइरहेको बताए ।
‘जो सबैभन्दा अराजक छ, त्यही विकल्प हो भन्ने मनोविज्ञान खडा गर्ने काम नेपाली समाजमा भइरहेको छ,’ उनले भने ।
समाजमा सामाजिक अराजकता फैल्याई र निराशाको खेती गरेर मानव अधिकार र लोकतन्त्र संस्थागत हुन नसक्ने उनले प्रष्ट पारे । सामाजिक अराजकता र निराशाको खेती लोकतन्त्र र मानव अधिकार माथिको हमला भएको उनले बताए ।
जनतामा रहेको विद्रोही मानसिकतालाई अब राज्यका पक्षमा परिणत गर्नुपर्नेमा पोखरेलले जोड दिए । राज्य र नागरिकलाई जोडेर अघि बढ्नुपर्ने उनको धारणा छ ।
उनले जस्तोसुकै कठिन बेलामा पनि समाजमा आशाको दियो बाल्नुपर्ने बताए । त्यसो गर्न सकियो भने मात्र समाज प्रतिकूलताबाट बाहिर निस्कने बताए ।
‘आशाको दियो नबाल्ने हो भने त्यो समाजको पतन अनिवार्य छ, जस्तोसुकै कठिन बेला पनि समाजमा आशाको दियो बाल्नै पर्दछ,’ उनले भने ।
नेपाली समाजमा विचारको खेती गर्नेहरूले पनि गहिराइमा जानेभन्दा पनि सतही कुरा गरेर समाजमा निराशा मात्र बाँड्ने काम गरेका पोखरेलले बताए । आफूलाई बुद्धिजीवी भन्नेहरूले समेत बलिरहेको आशाको दियो निभाउने काम गरेका भन्दै पोखरेलले आलोचना गरे ।
विश्वका सबै समाज प्रतिकूल अवस्थाबाट नै विकास भएर आएका पोखरेलले बताए । कुनै पनि समाज सधैंभर राम्रै राम्रो भएर अघि नबढेका उनले प्रष्ट पारे । जतिसुकै चुनौती भए पनि, संकट भए पनि समाज र भविष्यका लागि जसले बुझेको छ त्यसले आशाको दियो बाल्नुपर्ने उनले बताए । ‘निराशाको खेती होइन, आशाको दियो बाल्ने मानव अधिकारकर्मीको बन्नु पर्दछ, किनभने मानव अधिकारकर्मी निराशाको खेती गर्ने होइन, आशा जगाउने अभियन्ता हो,’ उनले भने ।
देशका सामु धेरै समस्या भए पनि ती समस्या समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । समस्याको समाधान आशाको दियो बालेर नै गर्न सकिने पोखरेलको धारणा छ ।
राजनीतिक परिवर्तनलाई सर्वोपरि ठान्ने सोचले देशको आर्थिक, सामाजिक परिवर्तनले गति लिन नसकेको पोखरेलको धारणा छ । राजनीतिक परिवर्तन देश र समाज परिवर्तनको आधार मात्र भएको उनले प्रष्ट पारे ।
नेपालमा आजको राजनीतिक अस्थिरताको बिउ शान्ति सम्झौताको बेला नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रोपिदिएको पोखरेलले बताए । कोइरालाले चुनाव नै नलडेको माओवादीलाई संसद्मा एमालेसरह भाग दिएर अस्थिरताको बिउ रोप्ने काम गरेको उनको भनाइ छ । कम्युनिष्टलाई लडाएर मात्रै कांग्रेसको भविष्य सुनिश्चित हुनसक्छ भन्ने योजनाका साथ कोइरालाले सो काम गरेको उनले बताए ।
गठबन्धन संस्कृतिबाट पनि देश विकास सम्भव नरहेको उनले बताए । दलहरूको गठबन्धन नै सोभ्रेन्टी हो भन्ने मानसिकताले लोकतन्त्रलाई सही बाटोमा अघि बढाउन नसकिने पोखरेलको धारणा छ । नेपालको लोकतन्त्रलाई बलियो बनाउन बलियो राजनीतिक शक्ति आवश्यक रहेको उनको भनाइ छ ।
लामो समय देशेको नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति देशलाई आवश्यक रहेको पोखरेलले बताए ।
लोकतन्त्र भनेको जनताले रुचाएको शक्तिले शासन गर्ने प्रणाली रहेको भए पनि नेपालमा जनतालाई रुचाएको शक्ति सत्ता बाहिर र जनताले नरुचाएको शक्ति सत्तामा रहेको पोखरेलले टिप्पणी गरे । जसले गर्दा नागरिकमा निराशा बढेको उनको धारणा छ ।
नेपालमा राजनीतिक स्थायित्वको आधार बन्नै नसकेको उनले बताए । सो आधार नबनेसम्म राजनीतिक स्थायित्व नहुने र राजनीतिक स्थायित्व नभएसम्म देश विकास नहुने उनले प्रष्ट पारे ।
नेपालको धर्म, संस्कार र संस्कृतिमाथि प्रहार भइरहेकोप्रति उनले सचेत गराए । धर्म, संस्कार र संस्कृतिमाथि प्रहार हुँदा देश कमजोर बन्ने उनले बताए ।




प्रतिक्रिया