नेपालमा महिलाको राजनीतिक सहभागिता युरोपभन्दा राम्रो छ : शंकर पोखरेल

नेपालमा महिलाको राजनीतिक सहभागिता युरोपभन्दा राम्रो छ : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

विश्व सामाजिक फोरमः विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आईतबार आयोजना गरेको उत्प्रेरित राजनीतिः महिला प्रतिनिधि विषयक कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताए ।

राजनीतिक सहभागिताको हिसाबले नेपालका महिला सहभागिता युरोपभन्दा माथि उठेको भए पनि आर्थिक, सामाजिक क्षेत्रमा त्यो विकास हुन नसकेको उनले बताए । ‘नेपालको परिप्रेक्षमा हामीले आर्थिक सामाजिक मुद्दालाई अझ प्राथमिकताका साथ, महत्त्वका साथ उठाउनु आवश्यक छ,’ उनले भने ।

नेपालको मौलिक परम्परागत संस्कृतिमा जातिभेद र लिङ्गभेद नभएको उनले बताए तर जब ब्रह्मा, विष्णु, महेश्वरको नाममा पूजा गर्ने पितृसत्ता सुरु भयो तब महिलाहरूमाथि विभेद भएको उनको भनाइ छ ।

अहिले पनि हिन्दू महिलाहरूको तिनै कुरामा आशक्ति भएको पोखरेलले बताए । ‘जुन संस्कृतिले महिलालाई पछाडि पार्‍यो, त्यो संस्कृतिप्रतिको आशक्तता जबसम्म रहन्छ, सांस्कृतिक रूपमा महिला परिवर्तनको प्रक्रिया कमजोर हुन्छ,’ उनले भने ।

नेपालको महिला आन्दोलनले जबसम्म यो आशक्ति बदल्न सक्दैन सामाजिक र सांस्कृतिक रूपमा महिलाको अवस्था कमजोर हुने पोखरेलको भनाइ छ । ‘हाम्रो धरातलको कमजोरी के हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ,’ उनले भने ।

नयाँ विश्वको परिकल्पना गर्दा धनी राष्ट्रका पक्षको विश्व व्यवस्था मानव अधिकारमैत्री नरहेको उनले बताए । मानव अधिकार संस्थाहरू नै धनी राष्ट्रको छाया बन्दै गएका पोखरेलको भनाइ छ ।

उनले प्रविधि र विज्ञानको विकास सँगसँगै धनी र गरीब बीचको खाडल झन् झनै बढ्दै गएको बताए । त्यसलाई बदल्न कस्तो नीति अपनाइन्छ भन्ने कुरा प्रमुख विषय भएको पोखरेलको भनाइ छ । नयाँ विश्व निर्माणको लागि बलियो राजनीतिक आन्दोलन आवश्यक रहेको पोखरेलले प्रष्ट पारे ।