प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद योगेश भट्टराईले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा मागेका हुन् ।

सांसद भट्टराईले बालकुमारी घटनामा छानबिन समितिले दोषी देखाएका मन्त्री ज्वाला, टेरामक्स प्रकरणमा दोषी देखिएका मन्त्री बस्नेत र मन्त्री सुदन किरातीले लुम्बिनीको रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई लिजमा दिने विषयमा गलत गरेको भन्दै राजीनामा मागेका हुन् । उनले यस विषयमा सदनलाई प्रधानमन्त्रीले जानकारी दिनुपर्ने बताए ।

बालकुमारी घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संसदमा भएको प्रश्नोत्तर‍ कार्यक्रममा बालकुमारी घटनामा दुई युवाको मृत्यु नभई हत्या भएको भन्ने शब्द चयन गरेको हुँदा सरकार आफैंले जिम्मेवारी लिनुपर्ने भट्टराईले बताए।

‘बालकुमारी घटनामा दुई जना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयमले भन्नुभएको छ। यदी बालकुमारी घटनामा हत्‍या भएको हो भने कसले गर्‍यो त, नागरिक तहमा झडप भएर हत्या भएको होइन,’ उनले संसदमा भने, ‘सुरक्षाकर्मीको गोलीबाट बालकुमारीमा दुई जना युवाको हत्या भएको हो। यसमा सिंगो सरकार जिम्मेवार छ।’

उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने समेत बताए।