काठमाण्डु – अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेका छन् ।
गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले कास्की पोखरा महानगरपालिका–११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाईपास गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट भीओआइपी गेटवे ६४ पोर्टको २ थान, वाइफाई राउटर १ थान, यूपीएस १ थान, एनसेलको सिम ५९७ थान, पेनड्राईभ १ थान, मोबाइल २ थान लगायतका उपकरण बरामद भएको छ ।
उनीहरूउपर दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया