माओवादीका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

माओवादीका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ नेकपा माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने बताएकी छन् ।

आज शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आफूहरूका कारणले गठबन्धन तलमाथि नहुने स्पष्ट पारिन् ।

माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने उनले बताइन् । उनले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन् ।

माओवादीको राष्ट्रियसभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने उनले बताइन् । उनले भनिन्, ‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन । माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रूपमा पनि आयो । अर्को कुरा – जुन बिग सिक्स छ, अहिले आउँदा माओवादीमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रिय सभासम्म कहीँ पनि माओवादीको उपस्थिति छैन । प्रधानमन्त्री हुनुहुन्छ, आफ्नो ठाउँमा छ । अहिले जति विषयहरू उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो ।’

गठबन्धनले राष्ट्रियसभा अध्यक्षमा माओवादीलाई सहयोग गरे गठबन्धनमा तलमाथि नहुने उनले बताइन् । उनले भनिन्, ‘करीब–करीब एकखालको सर्वसहमतिजस्तो बन्यो पार्टी स्थायी कमिटी बैठकमा । त्यसकारणले गर्दाखेरी यसमा दाबी गर्ने, यसमा उम्मेदवार हाम्रो हुन पाउनुपर्छ भन्ने त के अन्यथाको कुरा भयो र ? गठबन्धनले सहयोग गर्दा नै भइहाल्यो नि ठूलो कुरै भएन । गठबन्धन तलमाथि हाम्रा कारणले चाहिँ हुँदैन ।’