काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने भएको छ । बांसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीको बयान लिने तयारी गरेको हो ।
सीआईबी प्रमुख किरण बज्रचार्यले आइतबार वसन्त चौधरी,गंगादेवी चौधरी र महेशकुमार अग्रवाललाई वयानमा बोलाउने तयारी भएको जानकारी दिइन । त्यसलगत्तै कांग्रेस सांसद चौधरीसंग बयान लिने तयारी भएको उनको भनाई छ । बांसबारीमा चौधरीको समेत दुई सय कित्ता शेयर रहेको प्रमाण सार्वजनिक भइसकेको छ ।
चौधरी परिवारमाथि बांसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा किर्ते र ठगी गरेर हडपिएको आरोप छ । सीआईबीले यसअघि चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरेको थियो । तर, चौधरी काठमाण्डु जिल्ला अदालतको आदेशमा रिहा भएपनि यो प्रकरणमा सीआईबीले छानविन भने जारी राखेको छ ।
चौधरी अहिले दूवईमा रहेका छन् । उनि आइतबार फर्केलगत्तै उनलाई बयानमा बोलाउने तयारी भएको हो । चौधरीमाथिको अनुसन्धान रोक्न सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि दबाव बढाएका छन् ।
तर, प्रधानमन्त्री र गृहमन्त्री भने चौधरीमाथिको बयान लिएरै छाड्नेमा छन् । त्यसमा गठबन्धन भत्किएपनि व्यहोर्ने उनिहरुले बताएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीले चौधरीमाथिको बयान अघि बढाउन सीआईबी प्रमुख बज्रचार्यलाई निर्देशन दिइसकेका छन् । सीआईबीले हयात होटल, छायां सेन्टरमाथिको अनुसन्धान समेत अघि बढाउने तयारी गरेको छ ।




प्रतिक्रिया