काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् भनेर प्रधानमन्त्रीले पन्छिन नमिल्ने बताएका छन् ।
आज शनिबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताए ।
कांग्रेस अब जनताका मुद्दाहरू लिएर संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिने उनले बताए । उनले भने, ‘हामीले सभापतिज्यूलाई भनेका छौं –अहिले हामी सरकार बनाउने वा भत्काउने भन्ने खेलमा लाग्दैनौं । यो गठबन्धन जे बनेको छ, यसले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरू भनियो, हाम्रा मन्त्रीज्यूहरूले काम गरेनन् भन्ने अभियोग छ । त्यसको परीक्षण हुन्छ ।’
पार्टीका तर्फबाट मन्त्री बनेकाहरूमध्ये सबैले राम्रै–राम्रो गर्न नसकेको स्वीकार गर्दै उनले केही पनि नगरेको भन्न नमिल्ने बताए ।
उनले भने, ‘मन्त्रीले काम गर्नका लागि, रिजल्ट देखाउनका लागि कम्तीमा १ वर्षको समय पाउनुपर्थ्यो, यतिकै कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् भनेर प्रधानमन्त्रीले पन्छिन मिल्ने कुरा होइन ।’




प्रतिक्रिया