काठमाण्डु- नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार ढल्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।
बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले केन्द्रमा सत्ता समिकरण फेरिए पनि कोशीमा कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको हो ।
बैठकमा महामन्त्री गगन कुमार थापाले सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए । गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको उनले बताए ।
सभापति निवासको छलफलमा उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेता भेला भएका थिए ।




प्रतिक्रिया