सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई–दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययन गरेपछि सार्वजनिक हुन लागेको हो ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।