रेशम चौधरी विदेशमा हुँदा उल्टियो नाउपाको निर्णय, प्रदेश सरकारबाट बाहिरिने

रेशम चौधरी विदेशमा हुँदा उल्टियो नाउपाको निर्णय, प्रदेश सरकारबाट बाहिरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारमा मन्त्रीहरू थपिएको केही हप्तामै पार्टीका संस्थापक रेशम चौधरी विदेशमा रहेका बेला नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यसअघि संस्थापक चौधरीको अगुवाइमा बसेको बैठकले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

बुधबारको बैठकले सबै तहका सरकारमा पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरूको सहभागिता रहेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिँदै नयाँ गठबन्धनसँग वार्ता गर्ने निर्णय गरिएको संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका नगर प्रमुख (मेयर) रामलाल डंगौराले जानकारी दिए । नयाँ गठबन्धनले सुदूरपश्चिम प्रदेशमा नाउपालाई मुख्यमन्त्री दिने ‘अफर’ गरेको चर्चा छ ।

पार्टीका संस्थापक रेशम चौधरी जापानमा रहेका बेला अध्यक्ष श्रेष्ठले पुरानो निर्णयलाई उल्ट्याइदिएकी छन् ।