हुम्ला एमालेको जिल्ला अधिवेशनका लागि लोगो सार्वजनिक

हुम्ला एमालेको जिल्ला अधिवेशनका लागि लोगो सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट – नेकपा एमाले जिल्ला कमिटी हुम्लाले आफ्नो दशौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

संसारका निकै थोरै क्षेत्रमा मात्रै पाइने वन चौरी हुम्लाको लिमी उपत्यकामा मात्रै पाइने भए पनि लोपोन्मुख जंगली जनावरको सूचीमा रहेको वन चौरीको संरक्षणमा जोड दिन सम्बन्धित निकायको ध्यान केन्द्रित गराउन एमाले हुम्लाले आफ्नो दशौं जिल्ला अधिवशेनको लोगोको प्रतिक बनाएको अधिवेशन आयोजक कमिटीका संयोजक डबल रावतले जानकारी दिए ।

पार्टी कार्यालय भएको मनमोहन स्मृति भवनमा आयोजित जिल्ला अधिवेशनको लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक रावतले नेपालकै शीर्ष सदरमुकाम सिमकोट र लोपोन्मुख वन चौरीलाई समेटेर अधिवेशनको लोगो तयार पारिएको बताए ।

‘जिल्लाका निवर्तमान पदाधिकारीहरूको बैठकले पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, कर्णाली–काठमाण्डु सम्पर्क कमिटीका उपसचिव बिरजन महातारा र देवीलाल रावलले परिकल्पना गरेर निर्माण गरेको दशौं जिल्ला अधिवेशनको लोगोेलाई पारित गर्ने निर्णय गरेपछि हामीले औपचारिक रूपमा सार्वजनिक गरेका हौं,’ अधिवेशन आयोजक कमिटी संयोजक रावतले भने, ‘लोगोले हुम्ला लोपोन्मुख वन्यजन्तुको वासस्थान क्षेत्र मात्रै होइन, पर्यटकीय क्षेत्र पनि हो भन्ने सन्देश दिनेदेखि उदाउँदो कम्युनिष्ट पार्टी र राष्ट्रियताको पहारेदारका रूपमा एमाले पार्टी रहेको भन्ने सन्देश दिएको छ ।’

दशौं जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगोमा सदरमुकाम सिमकोटको सुन्दर दृश्य, लोपोन्मुख हुम्लामा पाइने चौरी, सुन्दर हिमाल र उदाउँदो सूर्य चिह्न अंकित रहेको एमाले हुम्लाका निवर्तमान सचिव तीर्थराज बोहराले बताए ।

जिल्ला अधिवेशनका लागि ४४ वटै वडामा एकै दिन प्रतिनिधि छनोट गरिने भएको छ । ४ हजार ६६३ पार्टी सदस्यता रहेको एमाले हुम्लाले वडा कमिटीलाई प्रतिनिधि छनोटको क्षेत्र तोक्दै चैत १६ गते शुक्रबार एकैसाथ प्रतिनिधि छनोट गर्ने भएको छ ।

‘दशौं जिल्ला अधिवेशनका लागि ४४ वटा वडा मध्ये ४३ वडाबाट १५७ जना प्रतिनिधिको सहभागिता हुने गरी प्रतिनिधि छनोटको काममा सबै वडा कमिटीले अन्तिम तयारी गरिरहनुभएको छ,’ पार्टी सचिव बोहराले भने, ‘जिल्ला कमिटीले तय गरेको मापदण्डअनुसार महिला ४२ जना, पुरुष ९२ जना, दलित २१ जना प्रतिनिधिहरू वडाबाट छनोट भएर आउनुहुनेछ । त्यसमा १५ प्रतिशत ४० वर्षमुनिका युवाहरू पनि प्रतिनिधिका रूपमा छनोट हुनेछन् ।’